प्रेस विज्ञप्ति


2072/1/12 मा आएको विनाशकारी भुकम्पले सिर्जना गरेको जनधन एवं साँस्कृतिक धरोहरहरुको विनाश भएकामा क्यानडामा रहेका नेपाली, क्यानडा सरकार र जनताका तर्फबाट अभूतपूर्व रुपमा समावेदना एवं भुकम्प पीडितलाई सबै प्रकारका सहयोगहरु प्राप्त भईरहेका छन्।

क्यानडाका प्रधानमन्त्री Hon. Stephen Harper ले एक प्रेस विज्ञप्ति निकाली शोकसन्तप्त जनाताप्रति समावेदना व्यक्त गर्दै विपत्तिको यो कठीन घडीमा नेपाललाई क्यानडाले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको छ। क्यानडाका विदेश मन्त्री Hon. Rob Nicolson ले माननीय परराष्ट्र मन्त्रीसँग टेलिफोन गरी नेपाल सरकार र जनताप्रति हार्दिक समावेदना व्यक्त गर्दै क्यानडा सरकारको तर्फबाट सहयोगको प्रतिवद्वता व्यक्त गर्नु भयो। विदेश मन्त्री  Hon. Nicolson ले महामहिम राजदूत कालीप्रसाद पोखरेललाई टेलिफोन गरी हार्दिक समावेदना व्यक्त गर्नु भयो । यसैगरी, क्यानडाका रक्षा मन्त्री Hon. Jason Kenny, अन्तर्राष्ट्रिय विकास मन्त्री Hon. Christian Paradis ले पनि नेपाली जनाताप्रति हार्दिक समावेदना व्यक्त गर्नु भएको छ।

क्यानडा सरकारले क्यानेडियन रेडक्रस मार्फत भुकम्प पीडितलाई तत्कालीन राहत स्वरुप 50 लाख डलरको मानवीय सहयोग प्रदान गर्ने घोषणा गरको छ। उक्त सहयोग भुकम्प पीडितलाई खाना, बास, औषधी, पानीका लागि खर्च गरिने जानकारी अन्तर्रष्ट्रिय विकास मन्त्री Hon. Christian Paradis ले दिनु भएको छ।

क्यानडाको ओन्टारियो प्रान्तका प्रिमियर Hon. Kathlene Wynne ले महामहिम राजदूतलाई टेलिफोन गरी नेपालमा भुकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै नेपाल सरकार र जनताप्रति हार्दिक समावेदना व्यक्त गर्नु भएको छ। उहाँले दुखको यस घडीमा आफूहरु नेपाली जनताको साथमा रहेको भावना व्यक्त गर्नुभयो। उहाँले भुकम्प पीडितहरुका लागि प्रान्तीय सरकारको तर्फबाट 10 लाख डलरको सहयता घोषणा गरेको जानकारी दिनु भयो। उक्त रकम क्यानेडियन रेडक्रस मार्फत खर्च गरिने छ। त्यस्तै,  क्यानडाको क्युवेक प्रान्तका अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्री Hon. Christine St-Pierre ले महामहिम राजदूतलाई टेलिफोन गरी प्रान्तीय सरकारको तर्फबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै हार्दिक समवेदना व्यक्त गर्नु भएको छ।उहाँले क्युवेकले नेपालको यो विपदमा क्यानेडियन रेडक्रस मार्फत सक्दो सहयोग गर्ने विश्वास पनि दिलाउनु भएको छ।

क्यानडा सरकारले भुकम्पको क्षतिको क्यानडाका तर्फबाट प्रारम्भिक अध्ययन गर्न एक सात सदस्यीय टोली नेपाल पठाएको छ। विदेश मन्त्रालयको Emergency Response Department को Director को नेतृत्वमा Canadian Armed Forces एवं अन्य विभिन्न सरकारी निकायका अधिकारी संलग्न रहेको यो टोलीको अध्ययन पछि क्यानडा सरकारले थप सहयोग गर्ने जानकारी यहाँको विदेश मन्त्रालयलका अधिकारीहरुले दिएका छन्। यसैगरी, क्यानडा सरकारले भुकम्प पिडीतहरुका लागि 36 हजार किलोग्राम राहत सामाग्रीहरु एवं उद्दार विशेषज्ञहरुको टोली नेपालतर्फ प्रस्थान गरेको छ।

यहाँको विदेश मन्त्रालयसँग सहकार्य गरिरहेको क्यानडाको Global Medic नामक संस्थाले नेपालका भुकम्प पीडितहरुका लागि सहयोग गर्न डाक्टर, नर्स, उद्दार विज्ञ लगायतको टोली र Life saving supplies-water purifier, tent, medical equipment, field Hospital, Unmanned AerialVehicles लगायतका समाग्रीहरु पठाएको छ।

क्यानडाका विदेश मन्त्री Hon. Rob Nocolson ले क्यानडाको कुनै पनि दर्तावाला च्यारिटी संस्थाले नेपालका लागि उठाउने सबै राहत रकममा matching fund को व्यवस्था गर्ने घोषणा सञ्चार माध्यम मार्फत सार्वजनिक गर्नु भएको छ।  क्यानडा रेडक्रसले नेपालका भुकम्प पीडितहरुका लागि ठूलो परिमाणको औषधी उपचार सम्बन्धी सामाग्रीहरु आजै नेपाल पठाई सकेको कुरा क्यानडा रेडक्रसका Emergency Coordinator Ms. Julia Iwama  ले राजदूतावासमा आई जानकारी गराउनु भयो। क्यानडा रेडक्रसको उक्त आपतकालीन सेवामा 120 वटा हस्पिटल वेड, सर्जिकल उपकरण, टेन्टहरु लगायतका अत्यावश्यकीय सामाग्रीहरु रहेको जानकारी प्राप्त भएको छ। सेवा कार्यको लागि विशेषज्ञ चिकित्सक टोली, नर्स, ल्याव टेक्निसियन गरि 25 जना रहने बुझिएको छ। उक्त टोलीले अन्य चिकित्सा सेवाका अतिरिक्त गर्भवती एवं नवजात शिशुको उपचारमा ध्यान दिने जानकारी प्राप्त भएको छ। यहाँका सार्वजनिक सञ्चारका माध्यमले नेपालको विपद्को यो समयलाई अत्यन्त महत्व दिई समाचार प्रकाशन/प्रशारण गरी रहेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायतका समाचार संस्थाहरुले नेपालको भुकम्पबाट सिर्जना भएको परिस्थितिलाई गम्भिर अवस्थाका रुपमा चित्रण गर्दै नेपाली जनताले यसलाई बहन गर्न सक्ने छन् भन्ने विश्वास एवं प्रार्थना समेत गरेका छन्। CTV, CBC, National, CP24, CTV Parliament, CBC Radio, CBC French लगायतका टेलिभिजन च्यानल एवं रेडियोहरु तथा दैनिक पत्रपत्रिकाहरुले राजदूतावाससँग सम्पर्क गरी नेपालको अवस्थाका बारेमा नियमित रुपमा जानकारी एवं अन्तरवार्ता लगायतका समाचारहरु प्रशारण तथा प्रकाशन गरिरहेका छन्।

श्री नेपाली राजदूतावास,
ओटवा, 
क्यानडा
2072/1/14

Information Officer

Mr. Dilip Kumar Paudel

Counsellor

Phone: 613-680- 5513 Ext. 104

Email: nepalembassy@rogers.com

eonottawa@mofa.gov.np